काठमाडौं । लिग चरणका खेल सकिएसँग नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ ।
सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्यो ।
हारका बाबजुद कर्णाली याक्सले प्लेअफमा स्थान पाक्का गर्दा काठमाडौं गुर्खाज बाहिरिएको छ । यसअघि नै सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राइनोजले प्ले अफमा स्थान बनाइसकेका थिए ।
सुदूरपश्चिम सात खेलमा ६ जित र एक हारको नतिजासहित १२ अंक जोडेर शीर्ष स्थामा रह्यो । दोस्रो स्थानको जनकपुरले ५ जित र दुई हारको नतिजासहित १० अंक जोड्यो ।
यसैगरी चितवन, कर्णाली र काठमाडौंले चार जित र तीन हारको नतिजासहित समान आठ अंक जोडे । तर नेटरनरेटमा आगाडि हुँदा चितवनले तेस्रो र कर्णाली चौथो स्थानमा रहे ।
बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले सिधैं फाइनलमा स्थान पक्का गर्नेछ । हार ब्यहोर्ने टोलीले पनि दोस्रो क्वालिफायरको मौका पाउनेछ ।
चितवन र कर्णालीबीच पनि बुधबारै इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीको सामना गर्नेछ ।
इलिमिनेटरमा हार्ने टोलीको भने एनपिएल यात्रा समाप्त हुनेछ ।
बिहीबार हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेतासँग प्रतिस्पर्धा गर्नेछ प्रतितयोगिताको फाइनल शनिबार हुनेछ ।