काठमाडौं । लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा रहेर नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायर खेल्ने भएको छ ।
जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंक जोड्यो । सुदूरपश्चिमले बुधबार हुने खेलमा सात खेलबाट १० अंकका साथ दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
यता हारका बाबजुद पनि कर्णाली याक्स प्लेअफमा स्थान बनाउन सफल भएको छ । कर्णालीसँगै चितवन राइनोज र काठमाडौं गुर्खाजको समान आठ अंक रहे पनि नेटरनरेटका आधारमा चितवन र कर्णाली अगाडि बढे ।
बुधबारै हुने इलिमिनेटरमा चितवन र कर्णाली भिड्नेछन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अविजित ३८ ,कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ र सेफ जैबले ११ रन बनाए ।
कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन प्रसालद शर्मा र नन्दन यादवले समान एक विकेट लिए ।
दोस्रो ओभरको अन्तिम बलमा विपिनप्रसाद शर्माल चार रन बनाएर खेलिरहेका विनोद भण्डारीलाई एलबिडल्युको धरापमा पारे ।
तेस्रो ओभरको छैटौं बलमा सेफ जैब ११ रन बनाएर पेभेलियन फर्किए । उनलाई सोमपाल कामीले एलबिडब्ल्युको धरापमा पारे ।
छैटौं ओभरको पहिलो बलमा ब्रेन्डन म्याकमुलन रन आउट भए । उनले तीन रन मात्रै जोड्न सकेन ।
कठिन अवस्थामा रहेको सुदूरपश्चिमको इनिङ दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले सम्हालेका थिए ।
नन्दन यादवले १४औं ओभरको तेस्रो बलमा पेभेलियनको बाटो देखाउनुअघि दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्काको मद्दतले ३८ रन बनाए । उनी विकेटकिपर चाडविक वाल्टनबाट क्याच भए ।
दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो ।
कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए ।
सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई तथा सेफ जैबले एक विकेट लिए ।
पहिलो ओभरको अन्तिम बलमा ऋत गौतमलाई खाता पनि खोल्न नदिइन हरमित सिंहले बोल्ड गरे ।
दोस्रो ओभरको अन्तिम बलमा स्कटक कुग्गेलिजनले बाबर हायतलाई अभिनास बोहराबाट क्याच गराए । उनले ९ बलमा तीन चौकाको मद्दतले १३ रन बनाए ।
छैटौं ओभरको दोस्रो बलमा देव खनाल रन आउट भए । उनले सात रन जोडे ।
आठौं ओभरको तेस्रो बलमा जैबले ११ रन बनाएर खेलिरहेका चाडविक वाल्टनलाई एलबिडब्ल्युको धरापमा पारे ।
दीपेन्द्रसिंह ऐरस्ले १६औं ओभरको पाँचौं बलमा विल बसिस्टोलाई कुुग्गेलिजनबाट क्याच गराए । उनले २४ बलमा एक चौकाको मद्दतले १६ रन बनाए
गुल्सनकुमार झा १७औं ओभरको दोस्रो बलमा रन आउट भए । उनले दुई रन मात्रै बनाउन सकेन ।
दीपेन्द्रले १८औं ओभरका चौथो बलमा जिसन मक्सुदलाई पेभेलियनको बाटो देखाए । ३५ बलमा चार चौका प्रहार गरेका उनी ब्रेन्डन म्याकमुलनबाट क्याच भए ।
सोमपाल कामी १९औं ओभरको पाँचौं बलमा पेभेलियन फर्किए । ११ रन बनाएक उनलाई कुग्गेलिजनले इशान पाण्डेबाट क्याच गराए ।
हरमितले अन्तिम ओभरकाे चौथो बलमा नन्दन यादवलाई खाता पनि खोल्न नदिइ म्याकमुलनबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा अभिनास बोहरा विकेटकिपर विनाद भण्डारीबाट स्ट्याम्पिङ भए । उनले पनि खाता खोल्न सकेनन् ।