काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को अन्तिम लिग खेलमा सोमबार टोली सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ममैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यही खेलमार्फत प्रतियोगिताको प्लेअफ समीकरण टुंगो लाग्नेछ । त्यसैले पनि यो खेललाई निकै चासोको रूपमा हेरिएको छ ।
अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूरपश्चिम र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ ।
सुदूरपश्चिम ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स सात खेलबाट १० अंक जोडेर दोस्रोमा छ । राम्रो नेटरनरेट रहेकोले सुदूरपश्चिम अगाडि छ ।
कर्णालीविरुद्धको जित वा झिनो अन्तरको हारले पनि सुदूरपश्चिमको शीर्ष दुई पक्का हुनेछ ।
यस्तै चितवन र कर्णालीसँगै काठमान्डौं गुर्खाजको पनि समान आठ अंक छ । चितवन र काठमान्डौंले सातै खेल खेलिसकेका छन् । नेटरनरेटका आधारमा अघि रहेर चितवनले प्लेअफमा स्थान बनाएको हो ।
अब कर्णाली र काठमान्डौंमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँने छन् । अहिलेको अवस्थामा राम्रो नेटरनरेटका साथ कर्णाली प्लेअफको होडमा अघि छ ।
सुदूरपश्चिमलाई पराजित गरे कर्णाली शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने सम्भावना छ ।
दीपेन्द्रेसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमलाई स्कट कुग्गेलिजन, सैफ अली जैब, विनोद भण्डारी, नरेन साउद जस्ता खेलाडीले साथ दिनेछन् ।
यता सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले गुल्सनकुमार झा, विपिनप्रसाद शर्मा, विल बसिस्टो, जिसन मक्सुद जस्ता खेलाडीलाई मौदान उतार्नेछ ।