काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बागमती प्रदेश छनोटमा शुक्रबार काठमाडौं र ललितपुर विजयी भएका छन् ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा काठमाडौंले त्रिभुवन विश्वविद्यालयलाई ६ विकेटले पराजित गर्याे । लगातार दोस्रो जित निकालेको काठमाडौंले तीन खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजय ब्यहोरेको त्रिभुवन विश्वविद्यालय अंकविहिन छ ।
त्रिभुवन विश्विद्यालयले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य काठमाडौंले १५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
काठमाडौंका लागि इशान पाण्डेले ५४ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी सोनु देवकोटाले अविजित २९ र हरिबहादुर चौहानले १८ रन बनाए ।
पहिलो विकेटका लागि इशान र हरिले ५३ रनको साझेदारी गरे । त्रिभुवन विश्वविद्यालयका लागि श्याम त्रिपाठीले दुई तथा सुशान्त तिम्सिना र अशोक बोहराले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको त्रिभुवन विश्वविद्यालयले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रनको योगफल तयार पारेको थियो । त्रिभुवन विश्वविद्यालयका लकी कडायतले ४५, सुनिल देवयालले २०,श्याम त्रिपाठीले १८ र कमल कुँवरले १८ रन बनाए ।
काठमाडौंका लागि कप्तान शरद भेषवाकरले ६ ओभरमा १८ रन खर्चिदै चार विकेट लिए । यसैगरी प्रतिश जिसीले दुई तथा मनोज यादव, सोनु देवकोटा र इशान पाण्डेले समान एक विकेट लिए ।
यसैगरी मुलपानी क्रिकेट मैदान (तल्लो) मा ललितपुरले भक्तपुर जिल्लालाई ३० रनले पराजित गर्यो । लगातार तेस्रो जितसँगै ललितपुरले तीन खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित भक्तपुर अंकविहिन छ ।
![](https://kheladi.com/uploads/media/2024/01/05/727091704453103.jpg)
ललितपुरले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पछ्याएको भक्तपुर ३७.५ ओभरमा १ सय ७३ रनमा समेटियो । भक्तपुरका लागि सन्देश कार्कीले ९५ बलमा ११ चौका र एक छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । यसैगरी अविनाश बस्यालले २४,सौरभ सखाकर्मीले १७ र गौरव पौडेलले १४ रन बनाए ।
आठौं विकेटका लागि सन्देश र अविनाशले ४८ रनको साझेदारी गरे । ललितपुरका लागि आदिल खानले ६.५ ओभरमा एक मेडनसहित ३० रन खर्चिएर चार विकेट लिए । यसैगरी विपिन आचार्यले दुई र पंकज पाण्डेले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३ रनको योगफल तयार पारेको थियो ।
ललितपुरका लागि सचिन लेखकले ८४ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ६७ रनको योगदान गरे । यसैगरी कप्तान आंशुतोष घिमिरेले ३२,आदिल खानले ३०, रोनिम तिवारीले २४, विपिन आचार्यले १७ र निर्विक पाठकले १६ रन बनाए ।
पहिलो विकेटका लागि आंशुतोष र रोनिमले ५२ को साझेदारी गरे । भक्तपुरका लागि प्रबन्जय केसीले, धिरेन्द्रकुमार बस्नेत, कृष कार्की, अविनाश बस्याल र सागर घिमिरेले समान एक विकेट लिए ।
यस्तै चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चिवन जिल्लाले नुवाकोट जिल्लाविरुद्ध ६ विकेटको जित निकालेको छ ।