केपी ओली कप ट्वान्टी २० प्रतियोगिता

केपी ओली कपः गण्डकीले एपिएफलाई हरायो

फाइल फोटो

काठमाडौं । गण्डकी प्रदेशले केपी ओली कप ट्वान्टी २० प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि चार विकेटको जित निकालेको छ । 

जितसँगै समूह ‘बी’ को गण्डकीले दुई अंक जोडेको छ । एपिएफले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुक्रबार एपिएफले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य गण्डकीले दुई बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो ।  गण्डकीका लागि मुस्कान थापाले २५, दीनेश बुढामागरले २४, अभिषेक थापाले अविजित ११ र गौरव बिकले ११ रन बनाए । 

एपिएफका लागि अविनाश बोहराले दुई तथा इर्सद अहमद, अमरसिंह रौटेला र अरुण ऐरीले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनको योगफल तयार पारेको थियो ।  एपिएफका लागि कप्तान प्रदीप ऐरीले २०, भुवन कार्की र सुमित महर्जनले समान १४ तथा लोकेश बम र आसिफ शेखले समान १२ रन बनाए । 

गण्डकीका लागि विपीन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान दुई तथा दीनेश बुढामगर र सुदीप अर्यालले समान एक विकेट लिए ।