काठमाडौं । घरेलु टोली नेपाल र ओमानबीच आज (आइतबार) आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियाली छनोटको च्याम्पियन बन्न प्रतिस्पर्धा हुँदै छ । दुबै टोली सेमिफाइलनमा विजयी हुँदै विश्वकपको लागि छनोट भइसकेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा खेल ११ बजे सुरु हुनेछ । नेपाल नेपाल घरेलु समर्थकमाझ उपाधि जित्न चाहन्छ । कप्तान रोहितकुमार पौडेल च्याम्पियन बन्ने लक्ष्य रहेको बताएका छन् । नेपालले बलिङ, फिल्डिङ र ब्याटिङमा सानदार प्रदर्शन गर्नुपर्छ ।
ओमान पनि पुनः घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा छ । समूह चरणको खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको थियो । ओमान प्रतियोगितामा अपराजित छ ।
सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएका हुन् ।
सिंगापुरविरुद्ध घाइते भएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फाइलनमा ओमानविरुद्ध खेल्ने या नखेल्ने पक्का भएको छैन । युएईविरुद्ध निर्णायक खेलमा खतरा मोल्दै खेलेका थिए ।
नेपाल र ओमानबीचको हेड टु हेडमा नेपाल बलियो स्थितिमा छ । हालसम्म दुई टोलीबीच पाँच खेल भए । नेपालले तीन खेल जितेको छ । ओमानले दुई खेल मात्रै जितेको हो ।
जारी प्रतियोगितामा सर्वाधिक रन बनाउनेमा नेपालका ओपनर कुशल भुर्तेल रहेका छन् । शीर्ष दुईमा नेपालकै अर्का ओपनर आसिफ शेख छन् । कुशलले चार इनिङ्समा एक सय ५४ रन र आसिफले एक सय २८ रन बनाएका हुन् ।