काठमाडौं । साबिक विजेता इङ्ल्यान्डलाई ३३ रनले स्तब्ध बनाउँदै अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई लगातार पाँचौं खेलसम्म पनि कायम राखेको छ ।
जितसँगै सात खेलमा १० अंक जोडेको अस्ट्रेलियाले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । छैटौं हार व्यहोरेको इङ्ल्यान्ड दुई अंकका साथ पुछारमा छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४८.१ ओभरमा २ सय ५३ रनमा समेटियो ।
इङ्ल्यान्डका लागि बेन स्टोक्सले ९० बलमा तीन चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान गरे । यसैगरी डेविड मलानले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले ५०, मोइन अलीले ४२, क्रिस वोक्सले ३२, आदिल राशिदले २०, डेविड विलीले १५ र जो रुटले १३ रन बनाए ।
स्टोक्सले तेस्रो विकेटका लागि मलानसँग ८५ र पाँचौ विकेटका लागि अलीसँग ६३ रनको साझेदारी गरे ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले तीन, प्याट कमिन्स, मिचेल स्टार्च र जोश हेजलउडले समान दुई तथा मार्कुस र्स्टोइनिसले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले ८३ बलमा सात चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी क्यामरुन ग्रिनले ४७, स्टिभ स्मिथले ४४, मार्कुस स्टोइनिसले ३५, एडम जाम्पाले २९, डेविड वार्नरले १५, ट्राविस हेडले ११, मिचेल स्टार्च र कप्तान प्याट कमिन्सले समान १० रन बनाए ।
लाबुसेनले तेस्रो विकेटका लागि स्मितसँग ७५ र पाँचौं विकेटका लागि ग्रिनसँग ६१ रनको साझेदारी गरे ।
इङ्ल्यान्डका लागि क्रिस वोक्सले चार, मार्क उड र आदिल राशिदले समान दुई तथा डेविड विली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।