काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा बहराइनमाथि १० विकेटको सानदार जित निकाल्दै ओमानले अर्को वर्ष हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
ओमान तेस्रोपटक ट्वान्टी २० विश्वकपका लागि छनोट भएको हो । यसअघि ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बहराइनले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो ।
ओमानका लागि काश्यप प्रजापतीले ४४ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५७ रनमा अविजित रहे । यसैगरी प्रतिक अथवले अविजित ४८ रन बनाए ।
त्यसअघि टस विजतेर ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ७ रनको योगफल तयार पारेको थियो ।
बहराइनका लागि इम्ररान अलीले ३०, अमिर बिना नासिरले अविजित २६ र सर्फराज अलीले २३ रन बनाए ।
ओमानका लागि अकिब इल्यासले चार, सकिल अहमदले दुई र बिलाल खान र कप्तान जिशन मक्सुदले समान एक विकेट लिए ।
ओमान समूह ‘ए ’ को विजेता तथा बहराइन समूह ‘बी ’ को उपविजेताका रुपमा सेमिफाइनल पुगेका थिए ।