काठमाडौं । घरेलु टोली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईका दुवै ओपनरको विकेट लिएको छ ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ गरिरहेको युएईले चौथो ओभरमा दुवै ओपनरलाई गुमाएको हो ।
ओभरको पहिलो खेलमा सोमपाल कामीले कालिद शाहलाई रन आउट गराए । उनले तीन रन बनाए ।
सोही ओभरको चौथो बलमा सोमपालले कप्तान मोहम्मद वासिमलाई व्यक्तिगत २६ रनमा करण केसीबाट क्याच गराए ।
आजको खेल जित्ने टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । घरेलु टोली नेपाल युएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाउने योजनामा छ ।
समूह ‘ए’ बाट ओमान विजेता र नेपाल उपविजेता तथा समूह ‘बी’ बाट युएई विजेता र बहराइन उपविजेता हुँदै अन्तिम चारमा स्थान बनाएका हुन् । समूह ‘ए’ का मलेसिया र सिंगापुर तथा समूह ‘बी’ का हङकङ र कुवेतको यात्रा भने अगाडि बढ्न सकेन ।
समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित हुँदै उपविजेता भएको थियो । त्यसअघि नेपालले सिंगापुरलाई आठ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
प्रशिक्षक मोन्टी देशाईले समूह चरणमा नखेलेका दीपेन्द्रसिंह ऐरीलाई मैदान उतारेका छन् । दीपेन्द्रले सन्दीप जोराको स्थान लिएका हुन् ।
सिंगापुरकोविरुद्धको पहिलो खेल अगाडी अभ्यास गर्ने क्रममा दीपेन्द्र घाइते भएका थिए ।
यता अपराजित रहेको युएई नेपालविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेट तथा हङकङलाई २२ रनले पराजित गरेको थियो ।