काठमाडौं । मलेसियाले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा सान्त्वना जित निकालेको छ । मलेसियाले बिहीबार समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि ६० रनले पराजित गरेको हो ।
जितसँगै समूह ‘ए’ को मलेसियाले दुई खेलमा तीन अंक जोड्यो । तीनै खेलमा पराजय व्यहोरेको सिंगापुर अंकविहिन बन्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको सिंगापुर १७.५ ओभरमा १ सय ३८ रनमै समेटियो ।
सिंगापुरका लागि कप्तान अरित्रा दत्तले ३१ बलमा सात चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रन बनाए । यसैगरी रोहन रंगाराजनले ३६ र अनिश परामले ३१ रन बनाए ।
पहिलो विकेटका लागि दत्त र रंगाराजनले ८१ रनको साझेदारी गरेका थिए । मलेसियाका लागि मोहम्मद आमिरले ३ ओभरमा १६ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी पवनदीप सिंहले दुई खिजर हायत, रिजवान हैदर र वीरनदीप सिंहले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९८ रनको योगफलत तयार पारेको थियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले ६१ बलमा ६ छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी शार्भिन मुनिएन्डीले ४८ बलमा आठ चौकाको मद्दतले अविजित ६० र जुबैदी जुल्किफ्लीले ३८ रन बनाए ।
मुनिएन्डीले तेस्रो विकेटका लागि फैजसँग १ सय ८ र दोस्रो विकेटका लागि जुल्किफ्लीसँग ६८ रनको साझेदारी गरे । सिंगापुरका लागि रमेश कालिमुथुले दुई तथा जनक प्रकाश र थिलिप थिलाप्पनले समान एक विकेट लिए ।
यसअघि दुवै टोली नेपाल र ओमानसँग पराजित भएका थिए ।