काठमाडौं । नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा संय्क्ग अरब इमिरेट्स ( युएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपालले समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । उता युएई हङकङलाई २२ रनले हराउँदै समूह ‘बी’ को विजेता बन्यो ।
नेपालले मुलपानी मैदान (माथिल्लो) मा शुक्रबार सेमिफाइनलमा युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने ट्वान्टी २० विश्वकपका लागि छनोट हुनेछ ।
बिहीबार युएईले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।
हङकङका लागि अन्शुमन रथले ४७ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी निजाकत खानले २५, अइजाज खानले २६ र नस्रुला रानले १३ रन बनाए ।
युएईका लागि जाहुर खान र अली नासिरले समान दुई तथा निलन्श केसवानी र जुनैद शिद्धिकीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि बसिल हामिदले २९ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी कप्तान मोहम्मद वासिमले ४६, अलिशान शराफुले ३४ र वृत्य अरविन्दले १९ रन बनाए ।
हङकङका यासिम मुर्ता जाले तीन नस्रुल्ला रानाले ह दुई र एहसान खानले एक विकेट लिए ।
समूह ‘बी’ मा युएई तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । अब अन्तिम खेलमा कुवेत र बहराइन खेल्दैछन् । उक्त खेलमा विजयी भए बहराइन सेमिफाइनलमा पुग्नेछ ।
तर सिंगापुर विजयी भएमा नेटरनरेटको आधारमा तीन मध्य एक टोली सेमिफाइनल खेल्नेछन् । उक्त टोलीले शुक्रबार ओमानसँग त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान प्रतिस्पर्धा गर्नेछ ।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल्ने टोलीले आगामी वर्ष हुने ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछन् ।