काठमाडौं । घरेलु टोली नेपालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुर त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
हालसम्म समूह ‘ए’ का यी दुवै टोली अपराजित छन् । आज पनि दुवै टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छन् । अघिल्ला दुई खेलमा नेपाल र ओमानले मलेसिया र सिंगापुरलाई पराजित गरेका थिए ।
नेपालले सिंगापुरमाथि आठ र मलेसियामाथि ६ विकेटको जित निकाल्दा ओमानले मलेसियालाई ३२ र सिंगापु्रलाई २२ रनले हराएको थियो ।
यी दुई बीचको ‘हेड टु हेड’मा नेपाल निकै बलियो छ । हालसम्मको चार भेटमा नेपालले तीन र ओमानले एक खेल आफ्नो पक्षमा पारेका छन् । सन् २०२२ फेब्रुअरी २४ मा भएको पछिल्लो भेटमा नेपालले ९ विकेटको जित निकालेको थियो ।
त्यसअघि नेपालले ३९ रन र ६ विकेटको निकाल्दा सन् २०१९ मा भएको पहिलो भेटमा ओमान ६ विकेटले विजयी भएको थियो।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल्ने टोलीले आगामी वर्ष हुने ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछन् ।