आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोट

विश्वकप छनोटः थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो नेपाल

फाइल तस्बिर

काठमाडौं । ब्याटिङ चल्न नक्सदा नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । 

पराजयसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा शुक्रबार थाइल्यान्डले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमै समेटियो ।  

नेपालका लागि कविता कुँवरले ११ तथा  अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाउनु बाहेक अन्य ब्यटारले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन, नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरंगरत्नले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १ सय ५ रनको योगफल तयार पारेको थियो ।

थाइल्यान्डका लागि नानपाट कोन्चारोएनकाइले ६३ बलमा चार चौकाको मद्दतमा अविजित ५९ रनको योगदान गरिन् । यसैगरी नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि कोन्चारोएनकाइकी र चान्थमले ६८ रनको साझोदारी गरेका थिए ।

नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए ।  

जितसँगै थाइल्यान्डले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यन्ड समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।