एसिसी एसिया कप

श्रीलंकाको विजयी सुरुआत

काठमाडौं । बंगलादेशलाई पाँच विकेटले हराउँदै घरेलु टोली श्रीलंकाले एसिसी एसिया कपमा विजयी सुरुआत गरेको छ ।

बिहीबार राति सम्पन्न खेलमा माथिसा पाथिरानाले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकाले घरेलु दर्शकमाझ ६६ बल अघि नै सहज जित निकालेको हो ।

जितसँगै समुह ‘बी’ मा श्रीलंकाले दुई अंक जोडेको छ । बंगलादेशले भने हारबाट प्रतियोगिता सुरु गर्यो ।

बंगलादेशले दिएको एक सय ६४ रनको लक्ष्य श्रीलंकाले पाँच विकेट गुमाएर ३९ ओभरमै भेट्टाएको थियो । श्रीलंकाका दुई खेलाडीले अर्धसतकीय इनिङ खेलेका हुन् ।

चारिथ असलङ्काले अविजित सर्वाधिक ६२ रन बनाएका थिए । सदीरा सामराविक्रमले ५४ रन जोडेका हुन् । दुई खेलमाडीले ७८ रनको बलियो साझेदारी गरेपछि श्रीलंका जिततर्फ बढेको थियो । बंगलादेशका कप्तान सकिब अल हसनले सर्वाधिक दुई विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४२.४ ओभर बलिङ गर्दा मात्र एक सय ६४ रन बनाउन सक्यो । तेस्रो नम्बर क्रिजमा आएका नाजमुल हुसैल सान्तोले सर्वाधिक ८९ रन बनाएका थिए । श्रीलंकाका मथिसाले चार विकेट लिएपछि बंगलादेश सस्तैमा समेदिएको थियो ।