काठमाडौं । चार देश सम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामू ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाउँदै ८३ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण खेललाई १८ ओभरमा झारिएको हो । डकवर्थ लुइस पद्धतिको आधारमा मलेसियाले ८५ रनको लक्ष्य प्राप्त गरेको हाे ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र काजल श्रेष्ठले १८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मलेसियाका लागि माहिरा स्माइल, ऐन्ना हशिम र नुर समादले समान दुई तथा ऐश्या फिर्दाजले एक विकेट लिए ।
नेपाल अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।
मलेसियालाई पनि फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न नेपाललाई हराउनै पर्ने दबाब छ । पहिलो खेलमा कुवेतलाई आठ विकेटले हराएको मलेसिया वर्षाले प्रभावित दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो ।
शीर्ष दुई टोलीले उपाधि तथा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल शनिबार हुनेछ ।
आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।