काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले कुवेतसामू ९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि इन्दु बर्माले २३, विन्दु रावलले २० र काजल श्रेष्ठले अविजित १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुवेतका लागि मरियम्मा हैदरले चार, मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले समान एक विकेट लिए ।
यही खेलमार्फत खुशी डंगोलले नेपाली सियिनर महिला टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेकी छन् । उनले अविजित एक रन बनाइन् ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा मंगलबार हङकङविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
कुवेत पनि नेपाललाई स्तब्ध बनाउँदै पहिलो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा कुवेत घरेलु टोली मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।
आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपाल, मलेसिया, हङकङ र कुवेतले यो शृंखला खेलिरहेका छन् ।