
काठमाडौं । पाकिस्तानविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको छ ।
पाकिस्तानविरुद्ध कुनै पनि खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।
यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।
युएईको सारजाह क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको ९३ रनको लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।
अफगानिस्तानका लागि मोहम्मद नाबीले अविजित ३८, नजिबुल्लाह जाद्रनले अविजित १७ र रहमनु्ल्लाह गुर्वाजले १६ रन जोडे ।
पाँचौँ विकेटका लागि नाबी र जाद्रनले अविजित ५३ रनको साझेदारी गरे ।
पाकिस्तानका इहसनुल्लहले दुई तथा इमाद वसिम र निसम शाहले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि इमाद वसिमले १८, साइम अयुबले १७, ताइयब ताहिरले १६ र कप्तान सादब खानले १२ रन बनाए ।
अफगानिस्तानका मोहम्मद नाबी, मुजिब उर रहमान र फजलहक फारुकीले समान दुई तथा अज्मतुल्लाह ओमरजाई, नविन उल हक र राशिद खानले समान एक विकेट लिए ।