काठमाडौं । नवौं विकेटका लागि कप्तान रोहितकुमार पौडेल र करण केसीले अविजित ७५ रनको साझेदारी गरे पछि आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार चौथो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको हो । यससँगै नेपाल लिग टु अन्तर्गतको एकै त्रिकोणात्मक शृंखलामा चार जित निकाल्ने पहिलो टोली बनेको छ ।
यस जितसँगै २८ खेलमा २६ अंक जोडेको नेपाल छैटौं स्थानमा कायम रहँदा पराजय ब्यहोरे पनि लिग टुको च्याम्पियन बनिसकेको स्कटल्यान्ड २६ खेलबाट ५० अंकका साथ शीर्ष स्थानमा छ ।
स्कटल्यान्डले प्रस्तुत गरेको दुई सय १३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि रोहितले एक सय एक बलमा सात चौका र चार छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ९५ रन बनाए । यसैगरी करण केसीले अविजित ३१, ज्ञानेन्द्र मल्लले २१ र आसिफ शेखले १२ रन जोडे ।
स्कटल्यान्डका लागि मार्क वाटले तीन, क्रिस ग्रेभिसले दुई तथा ब्रेन्डन म्याकमुलन, माइकल लिस्क र सफ्यान सरिफले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १२ रनको योगफल तयार पारेको थियो ।
स्कटल्यान्डका लागि मुन्सलेले ५० बलमा ९ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी म्याथ्युज क्रसले ४२, ब्रेन्डन म्याकमुलनले ३१ तथा कायल कोएट्जर र क्रिस्टोफर म्याकब्रिडले समान २२ रन जोडे ।
छैटौं विकेटका लागि क्रस र म्याकमुलनले ५७ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा कुशल मल्ल र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
यसअघि नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो । स्कटल्यान्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।