आइसीसी महिला ट्वान्टी-२० विश्वकप

ट्वान्टी-२० विश्वकपः श्रीलंकाको विजयी सुरुआत

काठमाडौं । आइसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ ।

श्रीलंकाले शुक्रबार राति सम्पन्न उद्घाटन खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि तीन रनको रोमाञ्चक जित निकालेको हो ।

यसजितसँगै श्रीलंकाले दुई अंक जोड्दा दक्षिण अफ्रिकाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

केप टाउनस्थित न्युल्यान्ड मैदानमा श्रीलंकाले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि नौ विकेट गुमाउँदै एक सय २६ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान सुने लुसले सर्वाधिक २८ रन जोडिन् । यसैगरी लोरा उल्भड्टले १८, सिनालो जाफ्ताले १५, ताजमिन ब्रिट्सले १२, मारिजेन कापले ११ र कोले ट्रियोनले १० रन जोडे ।

श्रीलंकाका लागि इनोका रणवीराले तीन तथा सुगन्दिका कुमारी र ओसदी रणसिंगेले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंका लागि  कप्तान चमारी अथापथ्युले ५० बलमा १२ चौका मद्दतले सर्वाधिक ६८ रनको योगदान दिइन् । यसैगरी भिस्मी गुणारत्नेले ३५ रन जोडिन् ।

दोस्रो विकेटका लागि अथापथ्थु र गुणारत्नेले ८६ रनको साझेदारी गरेका थिए ।

 दक्षिण अफ्रिकाका लागि सबनिम स्माइल, मारिजेन काप र नादिनी डी क्लार्कले समान एक विकेट लिए ।