काठमाडौं । नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन बुधबार प्रिन्सले जोहेर उद्धिनलाई २१-७, २१-६ ले पराजित गरे । यसैगरी सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१-१७, २१-१३ ले स्तब्ध बनाए ।
अन्तिम १६ को यात्रा तय गर्ने क्रममा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१-१९, २१-१६, आर्मी क्लबका डेभिड थापा मगरले स्पोर्टस हवका विशाल तामाङलाई १७-२१, २१-११, २१-१५, पुलिस क्लबका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २१-१९, २२-२०, आर्मी क्लबका कविर केसीले सरफराज उद्धिनलाई २१-२, २१-४, एपिएफका देवराज रानाले सागर लामालाई २१-५, २१-४ ले पुलिस क्लबका अभिक श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१-७, २१-१६ स्तब्ध बनाउँदा एपिएफका अनिल मल्लले एपिएफकै अरुण अधिकारीबाट वाक ओभर प्राप्त गरे ।
यसैगरी आयोजक स्पोर्टस हवको लाखेपोखरी, बौद्ध ६ स्थित कभर्डहलमा भएको प्रतियोगितामा पुलिसका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७-२१, २१-१२, २१-१९, एपिएफका भोज बहादुर गुरुङ्गले मोइन उद्धिनलाई २१-१०, २१-९, आर्मी क्लबका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुसन श्रेष्ठलाई २१-९, २१-६, नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१-११, १५-२१, २१-१७, एपिएफका विजित थापा मगरले पुलिस क्लबका पुर्ण थापालाई २१-१९, १९–२१, २१–११, स्पोर्टस् हवका सुनिल कार्कीले एपिएफका प्रारम्भ सिंखडालाई २१-१२, २१-७ र पुलिसका विष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१-१४, २१-४ ले हराएर अन्तिम १६ मा स्थान बनाए ।
भेट्रान ३५ बर्ष माथिको युगल प्रतिस्पर्धामा कागेश्वरीका देविन्द्र राई र उमेशकुमार राईको जोडी, चन्द्रगिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडी, राम आले र अमर डङ्गोलको जोडी, कुमार लामा र दत्त थापाको जोडी र आयोजक स्पोर्टस् हवका लाक्पा तेन्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए ।
यस्तै ४५ बर्ष माथि युगलतर्फ विपिन शाह र पुर्ण श्रेष्ठको जोडी, तिलक छन्त्याल र हिरा रोकाको जोडी, निरज लामा र एलपी महर्जनको जोडी तथा पिस फिटनेश सेन्टरका केशव न्यौपाने र नरेन्द्र न्यौपानेको जोडी पनि अन्तिम १६ मा प्रवेश गरे ।
ब्याडमिन्टन संघको मान्यता प्राप्त वरियतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ वर्षमाथी र ४५ वर्षमाथी गरी ६ विधामा प्रतिस्पर्धा भइरहेको आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।
करिव २५ लाख लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः ४५ हजार, २५ हजार र १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस हवका संचालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।