टाईगर कप

टाईगर कपः एपिएफ लगातार तेस्रो पटक फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले पोखरामा  जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा बिहिबार सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनलमा साबिकको विजेता एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
 

लगातार तेस्रोपटक फाइनल प्रवेश गर्ने क्रममा एपिएफले खेल  २५-१३, २५-१७  र  २५-२१ ले आफ्नो पक्षमा पारेको थियो  ।

पहिलो संस्करणमा पुलिससँग पराजित हुँदै उप विजेता बनेको एपिएफले दोस्रो संस्करणमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

समूह चारणमा एपिएफ शीर्ष तथा गण्डकी चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । यो पराजयसँगै गण्डकी प्रतियोगितामा जित विहिन बन्न पुग्यो ।

अब एपिएफले फाइनलमा बिहिबार नै हुने त्रिभुवन आर्मी र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्टस् क्लबबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।