नवौं राष्ट्रिय खेलकुद

पुरुष भलिबल: तीन विभागीय टिम र र गण्डकी सेमिफाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् ।

पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा खेलमा विभागीय टिम हाबी हुँदा गण्डकी बाहेकका प्रदेशका टिम प्रतियोगिताबाट बाहिरिए । पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हराएर सेमिफाइनल यात्रा तय गर्यो । दोस्रो खेलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ३–० कै सेटमा पाखा लगायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले जित्यो ।

तेस्रो क्वार्टरफाइनल खेलमा अर्को विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो । पहिलो सेट २५–२३ ले ल्याउँदा दोस्रो सेटमा एपीएफलाई हम्मेहम्मे पर्यो । दोस्रो सेटको सुरुवातमा आफ्ना दुई खेलाडी चोटग्रस्त बनेपछि एपीएफलाई चुनौती थपियो ।

प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले २८–२६ को सफलता पायो । एपीएफले तेस्रो सेट २३–२५ ले गुमायो । लयमा देखिएको लुम्बिनीको पक्षमा दर्शकको समर्थन हुँदाहुँदै चौंथो सेटमा भने फितलो प्रदर्शन गर्यो । फलस्वरुप एपीएफ २५–१७ ले लुम्बिनीमाथि हाबी भयो ।

घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले अन्तिम क्वार्टरफाइनल खेलमा प्रदेश १ लाई सोझो सेटमै पन्छायो । गण्डकीले २५–२०, २५–२१ र २५–१३ ले प्रदेश १ लाई हराउँदा दर्शकले खुसी मनाए ।

प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुने छ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल बिहीबार हुने छ।