नेपाल भलिबल संघ

‘चाँडै अन्तर्राष्ट्रिय स्तरको कभर्डहल बन्नेछ’ –सदस्यसचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सक्दो चाँडो राजधानीमा अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।

नेपाल भलिबल संघका नवनिर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्दसहितको कार्यसमितिलाई स्वागत र सुखद कार्यकालको शुभकामना दिदै सदस्यसचिव घिसिङले आइतबार अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्ने प्रतिबद्धता गरे ।

राखेपमा भएको सो स्वागत कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चन्दसहित महासचिव रोशन श्रेष्ठ, उपाध्यक्ष गौतमप्रसाद लासिवा, भिम ओली र सदस्य अञ्जु श्रेष्ठलगायतको टिम उपस्थित थियो ।

बुधबार भएको संघको नवौं चुनावी साधारण सभाबाट अध्यक्ष चन्द प्रतिद्वन्द्वी निरोज मास्केलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

संसोधित विधान अनुसार ४१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र  सचिवमा सात तथा ११ सदस्य गरी २८ जना निर्वाचित भएका छन् । बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । पूर्व अध्यक्ष स्वत सदस्यका रुपमा रहनेछन् ।