काठमाडौं । नेपालको प्रतिनिधित्व गरेको हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियन्स लिग २०२५ मा विजयी सुरुआत गरेको छ ।
बिहीबार राति माल्दिभ्सको राजधानी मालेमा हेल्प नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सको धिवेही सिफाइङ्गेलाई ३–२ को सेटमा हरायो । रोमाञ्चक जितपछि हेल्प नेपालले दुई अंक जोड्यो ।
पाकिस्तानी तीन खेलाडी समावेश गरेको हेल्प नेपालले पहिलो र दोस्रो सेट क्रमशः ३३–३१ र २५–२० ले जितेको थियो । तर, तेस्रो र चौथो सेट क्रमशः २५–२२, २५–२० ले पराजित हुँदा खेल पाँचौ सेटमा पुगेको हो । निर्णायक सेटमा हेल्प नेपाल १५–८ ले विजयी भएको हो ।
जुलाई १७ देखि २३ सम्म चल्ने प्रतियोगितामा सेन्ट्रल एसियाका पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा हुनेछ । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
हेल्प नेपालले शुक्रबार दोस्रो खेलमा माल्दिभ्सकै अर्को टोली क्लब एचडिसीसँग खेल्दैछ । त्यससपछि किर्र्गिस्तानको बिश्केक, काजकिस्तानको जायक भिसी र श्रीलंकाको पोर्टस अथोरिटीसँग खेल्ने तालिका छ ।
हेल्प नेपाल गत संस्करणको उपविजेता टोली हो । काठमाडौंमा भएको फाइनलमा हेल्प नेपालले भारतीय प्राइम भलिबल लिग क्याम्पियन क्यालिकट हिरोजसँग पराजय बेहोरेको थियो ।
उत्सव खड्काको प्रशिक्षणमा रहेको हेल्प नेपालले पाकिस्तानबाट उस्मान फर्याद अली, मुराव जेहान र मोहम्मद कासिफ नभिदलाई भित्राएको छ । त्यस्तै, नेपाल पुलिस क्लबबाट सफल विश्वकर्मा, रविन नगरकोटी, रविन्द चन्द र एपिएफबाट लिबेरो विनोद चन्दलाई अनुबन्ध गरेको हो ।
यता, सन्तोष राई, चिरञ्जिवी खड्का, सुवास कुवँर, मनिष मानन्धर, यम बहादुर भण्डारी र विष्णु बहादुर क्षेत्री हेल्प नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।