काठमाडौं । कर्णाली यश्विजले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा कर्णालीले चितवन शक्तिविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।
पहिलो सेट २०-२५ ले गुमाएको कर्णालीले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेटमा चितवन २५-२१ ले अगाडि रह्यो । चौथो सेटमा २५-१५ ले विजयी हुँदै कर्णाली खेलमा फर्किएको थियो ।
पाँचौं तथा निर्णायक सेट १५-१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले विजयी यात्रालाई जारी राख्यो ।
जितसँगै चार खेलमा १० अंक जोडेको कर्णाली शीर्ष स्थानमा उक्लिएको छ । यसअघि कर्णालीले मधेश युनाइटेडलाई ३-१, गण्डकी थन्डर्सलाई ३-२ र ललितपुर क्सिन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
पराजित चितवन समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ । यसअघि गण्डकी र मधेशलाई समान ३-१ को सेटमा हराएको चितवन काठमाडौं स्पाइकर्ससँग ३-१ कै सेटमा पराजित भएको थियो ।
लिग चरणको अन्तिम खेलमा शुक्रबार कर्णालीले काठमाडौं र चितवनले ललितपुर क्विन्सको सामना गर्नेछ ।
बिहीबारै सम्पन्न खेलमा काठामाडौंले मधेशलाई ३-१ को सेटमा पराजित गरेको थियो ।