काठमाडौं । नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि खेलाडी र प्रशिक्षक उत्साहित देखिएका छन् ।
नेपाली भलिबलको नयाँ सुरुआतका रूपमा लिइएको इडब्लुभिएलको पहिलो संस्करण सोमबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुँदैछ ।
उद्घाटन खेलमा सोमबार असोज १४ गते काठमाडौं स्पाइकर्सले ललितपुर क्विन्सको सामना गर्नेछ । खेल दिउँसो ३ः४५ मा सुरु हुनेछ । दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यसभिसले ५ः४५ बजे एक-अर्कासँग प्रतिस्पर्धा गर्दा ७ः४५ मा सुरु हुने तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स आमनेसामने हुनेछन् ।
प्रतियोगिता असोज १४ देखि १९ गतेसम्म हुनेछ ।
आइतबार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी ६ टोलीका कप्तान र प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा बोल्दै सबैले प्रतियोगिताले नेपाली भलिबल र खेलाडीको स्तरोन्नतीमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
कस्ले के भने ?
१. जगदीश भट्ट–मुख्य प्रशिक्षक, काठमाडौं स्पाइकर्स
यो प्रतियोगितालाई नेपालको भलिबललाई उचाइमा लैजाने अवसरका रुपमा लिएको छु । आफ्नो टोलीलाई विजयी गराउन सक्दो प्रयास गर्नेछु । सबै टोलीहरु उत्कृष्ट र सन्तुलित छन् । प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अनुमान गरेको छु । विदेशी खेलाडीले गर्दा स्वदेशी खेलाडीमा उर्जा थपेको छ । प्रतियोगिताले नेपाली खेलाडीमा आत्मविश्वास बढाउनेछ र यसले नेपाली भलिबलको भविष्य निर्धारण गर्नेछ ।
उषा भण्डारी– कप्तान, काठमाडौं स्पाइकर्स
प्रतियोगिताका लागि उत्साहित छौं । टोली सन्तुलित छ । खेलाडी तयार छन् ।
२. योगेश हमाल– सहायक प्रशिक्षक, ललितपुर क्विन्स
थाइल्यान्डका तीन विदेशी खेलाडी ल्याएका छौं । यसले टोलीको मनोबल बढाएको । प्रशिक्षणका लागि पर्याप्त समय नपाए पनि उत्कृष्ट प्रदर्शन गर्ने आश छ ।
सलिना श्रेष्ठ– कप्तान, ललितपुर क्विन्स
थाइल्यान्डका खेलाडीको अनुभवले हामीलाई धेरै सहज हुनेछ । ट्यालेन्ट हन्टबाट पनि हामीले राम्रो खेलाडी पाएका छौं । टोली पनि सन्तुलित छन् । निकै उत्साहित छौं ।
३. भरत यादव– मुख्य प्रशिक्षक, मधेश युनाइटेड
भलिबलको विकासमा यो प्रतियोगिताले टेवा पुर्याउने छ । यसले खेलाडीको स्तर वृद्धिमा काम गर्नेछ । पहिलो संस्करण सफलताका साथ सम्पन्न हुने हो भने यसले आगामी दिनमा भलिबल विकासका लागि प्रेरणा प्रदान गर्नेछ ।
निरुता ठगुन्ना–कप्तान, मधेश युनाइटेड
यस किसिमका प्रतियोगिताहरु भइरहोस् जस्तो लाग्छ । यो प्रतियोगिता खेलाडीका लागि अफूलाई प्रमाणित गर्ने ठाउँ हो जस्तो लाग्छ । प्रतियोगितामा नयाँ तथा युवा खेलाडीले पनि मौका पाउँदै छन् । यसले भलिबलको विकाशमा सहयोग पुग्नेछ ।
४. रुपेशकुमार विष्ट– मुख्य प्रशिक्षक, गण्डकी थन्डर्स
हिजोका दिनमा हामी स्थानीय खेलाडीमै सिमित थियौं । तर, अब विदेशी खेलाडी आएपछि भलिबलको माहोल नै बेग्लै हुने विश्वास छ । हाम्रा खेलाडीका लागि यो सिक्ने एउटा अवसर हो । हेरौं यो नयाँ सुरुआतले कस्तो परिणाम ल्याउनेछ ।
सरस्वती चौधरी–कप्तान, गण्डकी थन्डर्स
एकदमै उत्साहित छौं । भारत, रुस र क्यानाडाका समान एक खेलाडीहरु भित्र्याएका छौं । विदेशी खेलाडीबाट सिक्न पाउँनेछौं नयाँ खेलाडीले पनि आफूलाई प्रमाणित गर्ने अवसर पाउँदै छन् । यसले खेल स्तरमा बृद्धि हुन्छ जस्तो लाग्छ ।
५. अर्जुन घिमिरे–मुख्य प्रशिक्षक, चितवन शक्ति
नाम, काम र दामको सुरुआतका रूपमा लिएको छु । भलिबलबाट भविष्य बनाउँछु भन्नेहरुका लागि प्रेरणाको स्रोत हो यो प्रतियोगिता । भारतीय र रुसी खेलाडीले गर्दा टोली बलियो बनेको छ । प्रतियोगिताका लागि उत्साहित छौं ।
जेनिशा विश्वकर्मा– खेलाडी, चितवन शक्ति
पहिलो पटक फ्रेन्चाइज प्रतियोगिताको हुँदैछ । त्यही भएर पनि प्रतियोगिताका लागि हामी सबै उत्साहित छौं ।
६. कुमार राई– मुख्य प्रशिक्षक, कर्णाली यसभिस
लामो समयदेखि महिला भलिबलको विकासका लागि काम गर्दै आएको थिए । अहिले सपना पूरा भएको जस्तो लागि रहेको छ । त्यसैले व्यक्तिगत रूपमा पनि म आयोजकलाई धन्यवाद दिन चाहन्छु । अब साँच्चै महिला सशक्तिकरणको पालो आएको छ ।
खेलमा हार जित स्वभाविक हो । राम्रा खेलाडी भित्रिएका छन् । हार/ जित भन्दा पनि महिला भलिबल विकास मेरो पहिलो प्राथमिकता हो ।
सुमित्रा रेग्मी– कप्तान, कर्णाली यसभिस
प्रतियोगिताका लागि उत्साहित छौं । राम्रो खेलको आशा गरेका छौं ।