पोखरा । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) का लागि गण्डकी थन्डर्सले बुधबार ‘ट्यालेन्ट हन्ट’ बाट सोइङ थापालाई छनोट गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजित ट्यालेन्ट हन्टमा ३० खेलाडीले सहभागिता जनाएका थिए ।
हाल पोखरा बस्दै आएकी ५ फिट ८ इन्च हाइट भएकी उनी स्याङ्जाकी हुन् । सोइङलाई गण्डकीका प्रवन्धक विकास खेतानको नेतृत्वमा रहेको म्यानेजमेन्ट टिमले छनोट गरेको हो ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी प्रमुख खेलाडी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले रुपेशकुमार बिष्टलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
गण्डकीले असोज १४ मा चितवन शक्तिसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यससँगै गण्डकीको पूर्ण टोली तयार भएको छ । टोलीले यसअघि नै विदेशी कोटामा चार खेलाडी अनुबन्ध गरिसकेको छ ।
गण्डकी थन्डर्सको टोली
सुरस्वती चौधरी (मार्की), प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक (रुस), शिल्पा सिन्धु (भारत), एकातोरिना जुभ्यागिन्त्सेभा (रुस), जुही शा(भारत), सोइङ थापा (ट्यालेन्ट हन्ट) ।