एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिस साझो सेटमा विजयी

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार सम्पन्न खेलमा पुलिसले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले खेल २५-१७,२५-२१ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै पुलिसले २ खेलमा ५ अंक जोडेको छ । लगातार तेस्रो पराजय ब्यहोरेको शैलुङ्ग अंविहिन छ ।

यसअघि पुलिसले गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेको थियो । शैलुङ्ले यसअघि त्रिभुवन आर्मी क्लब र हेल्प नेपालसँग समान ३-० सेटको पराजय ब्यहोरेको थियो ।

अब मंगलबार पुलिसले दावाँली मिलन क्लब र शैलुङले नेपाल एपिएफ क्लबको सामना गर्नेछन् ।

सोमबार नै सम्पन्न महिलातर्फको खेलमा एपिएफले गण्डकी, न्यू डायमन्ड युथ स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लब र पुलिसले आर्मी माथि ३-० को सोझो सेटको जित निकाले।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले दावाँली मिलन तथा आर्मीले गण्डकीलाई ३-० को सोझो सेटमा हराएका थिए ।