एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीको लगातार तेस्रो जित

फाइल फोटो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार सम्पन्न खेलमा साबिक विजेता आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले खेल २५-१९, २६-२४ र ३३-३१ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै आर्मीले ३ खेलमा ९ अंक जोडेको छ । लगातार तेस्रो पराजय ब्यहोरेको गण्डकीको १ छ ।

यसअघि आर्मीले शैलुङ बागढुङ्गा स्पोर्टस क्लब र दावाँली मिलान क्लबलाई समान ३-० को सेटमा हराएकाे थियो । गण्डकी पुलिससँग ३-२ र एपिएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।

 अब आर्मीले बुधबार एपिएफ र गण्डकीले मंगलबार हेल्प नेपालको समाना गर्नेछन् ।

सोमबार नै सम्पन्न  महिलातर्फको खेलमा एपिएफले गण्डकी, न्यू डायमन्ड युथ स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लब र पुलिसले आर्मी माथि ३-० को सोझो सेटको जित निकाले।

यसैगरी पुरुषतर्फ हेल्प नेपालले दावाँली मिलनलाई ३-० को सोझो सेटमा हराएको थियो ।

आइतबार हुने अन्तिम खेलमा पुलिसले शैलुङ बागढुङ्गासँग प्रतिस्पर्धा गर्नेछन् ।