एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

दावाँली मिलनमाथि हेल्प नेपालको सहज जित

फाइल फोटो

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ  ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार सम्पन्न खेलमा हेल्प नेपालले दावाँली क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

 हेल्प नेपालले खेल २५-१७, २५-२२ र २५-२१ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै हेल्प नेपाल २ खेलमा ६ अंक जोडेको छ । लगातार तेस्रो पराजय ब्यहोरेको दावाँली अंकविहिन छ । पहिलो खेलमा हेल्प शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो । दावाँलीले नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लबसँग ३-० सेटकै पराजय ब्यहोरेको थियो ।

अब मंगलबार हेल्प नेपालले गण्डकी प्रदेश र दावाँलीले नेपाल पुलिस क्लबको सामना गर्नेछन् ।

सोमबार नै सम्पन्न  महिलातर्फको खेलमा एपिएफले गण्डकी, न्यू डायमन्ड युथ स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लब र पुलिसले आर्मी माथि ३-० को सोझो सेटको जित निकाले।

यसैगरी पुरुषतर्फ आर्मीले गण्डकी र पुलिसले शैलुङ बागढुङ्गासँग प्रतिस्पर्धा गर्नेछन् ।