एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिसको लगातार दोस्रो जित

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले खेल २५-१०,२५-२२ र २५-६ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै पुलिसले २ खेलमा ६ अंक जोडेको छ । एभरेस्टले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० कै सेटमा पराजित गरेको थियो ।

अब सोमबार पुलिसले त्रिभुवन आर्मी क्लब तथा एभरेस्टले न्यू डायमन्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछन् ।

आइतबार नै सम्पन्न महिलातर्फका खेलमा एपिएफले आर्मीमाथि ३-२ तथा न्यू डायमन्डले गण्डकीमाथि ३-० सेटको जित निकालेका थिए ।

यसैगरी पुरुषतर्फका खेलमा हेल्प नेपालले शैलङ्ग बागढुङ्गा स्पोर्टस क्लब र आर्मीले दावाँली मिलन क्लबलाई समान ३-० तथा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेका थिए ।