एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

गण्डकीमाथि न्यू डायमन्डको सहज जित

फाइल तस्बिर

काठमाडौं । न्यू डायमन्ड युथ स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले खेल २५-१७, २५-१६ र २५-१५ आफ्नो पक्षमा पारेको हो ।

जितसँगै न्यू डायमन्डले ३ अंक जोडेको छ । दुवै खेलमा पराजय ब्यहोरेको गण्डकी अंकविहिन छ । गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३-० कै सेटमा पराजित भएको थियो ।

अब सोमबार न्यू डायमन्डले एभरेस्ट भलिबल क्लब र गण्डकीले नेपाल एपिएफ क्लबको सामना गर्नेछन् ।

 आइतबार नै सम्पन्न महिलातर्फको पहिलो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३-२ सेटको जित निकालेको थियो ।

यसैगरी  पुरुषतर्फका खेलमा हेल्प नेपालले शैलङ्ग बागढुङ्गा स्पोर्टस क्लब र आर्मीले दावाँली मिलन क्लबलाई समान ३-० तथा एपिएफले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेका थिए ।