
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपको दोस्रो सेमिफाइनलमा आज नेपालले काजकिस्तानको सामना गर्दैछ ।
समूह ए मा तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा नतिजा सुम्पिएको नेपाल समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । काजकिस्तानले भने समूह बी को विजेता बन्ने क्रममा तीनवटै खेल जितेको थियो ।
नेपाल र काजकिस्तानबीचको खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।
पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा बंगलादेशमाथि ३-० को सोझो सेटमा जित निकालेको नेपालले अन्तिम खेलमा भने भारतलाई ३-१ को सेटमा नतिजा सुम्पिएको थियो ।
यता काजकिस्तानले भने श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो ।
आजै हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता भारत र समूह बी को उपविजेता उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।