काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा आयोजक नेपालले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार सम्पन्न तेस्रो खेलमा साबिक विजेता नेपालले किर्गिस्तानमाथि ३-० को सोझो सेटमा जित निकालेको हो ।
यससँगै नेपालले किर्गिस्तानविरुद्ध लगातार तेस्रो खेलमा विजयी भएको छ । यसअघि बंगलादेशमा भएका दुवै संस्करणमा पनि नेपालले किर्गिस्तानलाई पराजित गरेको थियो ।
नेपालले खेल २५-११, २५-१९ र २५-११ ले आफ्नो पक्षमा पारेको हो । जितसँगै समूह ‘ए’ को नेपालले तीन अंक जोड्दा किर्गिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
दोस्रो खेलमा मंगलबार नेपालले बंगलादेश तथा किर्गिस्तानले भारतको सामना गर्नेछन् ।
सोमबार नै सम्पन्न समूह ‘ए’ को खेलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । यसैगरी समूह ‘बी’ को उज्वेकिस्तानले श्रीलंमाथि ३-०को सोझो सेटको जित निकाल्यो ।
सोमबार साँझ सात बजे सुरु हुने चौथो तथा अन्तिम खेलमा काजकिस्तानले माल्दिभ्सको सामना गर्नेछ ।