काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

काभा महिला च्यालेन्ज कपको तयारी पूरा

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको तयारी सम्पूर्ण पूरा भएको छ ।

आयोजक नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जनाकारी दिएको हो ।

जेठ ८ देखि १४ सम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, काजाकिस्तान, किर्गिस्तान र उज्बेकिस्तान गरी राष्ट्रको सहभागिता रहने छ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, भारत, बंगलादेश र किर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्बेकिस्तान छन्।

प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष सहयोग प्रदान गरेको छ । यसैगरी अन्य सहयोगी संघ संस्थाहरुमा राष्ट्रिय बाणिज्य बैंक, केल्मी नेपाल, प्रवर्धन पार्टनरको रुपमा नेपाल पर्यटन बोर्ड, हस्पिटालिटी पार्टनरको रुपमा हायात प्यालेस, कम्युनिकेसन पार्टनरमा नेपाल टेलिकम, मिडिया पार्टनरमा हाम्रो खेलकुद, मेडिकल सपोर्टरमा फ्रन्टलाईन हस्पिटल, मार्केटिङ एण्ड इभेन्ट पार्टनर हन्ड्रेड स्पोर्टस छन् ।

प्रतियोगिताको उद्घाटन सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड) र समापन तथा पुरस्कार वितरण युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्नेछन्।

प्रतियोगितालाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न आर्थिक व्यवस्थापन, प्रचार प्रसार, सुरक्षा व्यवस्थापन, प्राविधिक व्यवस्थापन, समारोह व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथी सत्कार व्यवस्थापन, भेन्यु व्यवस्थापन, सोभिनियर व्यवस्थपान र अनुसाशन समिति गठन गरि समितिलाई प्रदान गरिएको छ ।

प्रतियोगिता सञ्चालन गर्न दुई करोड ७१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।