राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता

बिच भलिबलः आर्मी च्याम्पियन

तानसेन । विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी च्याम्पियन बनेको  हो । दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले  इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१-१९ र २१-१५ को सोझो सेटमा हरायो ।

उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले एक लाख रुपैयाँ पायो।

अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई २१-१८ र २१-१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्यो ।

एपिएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरे । आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरी पाँच  प्रदेश, तीन विभागीय क्लब र सहआयोजक गरि नौ टोली सहभागी थिए ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा भएको थियो ।