ललितपुर। जावलाखेलमा सम्पन्न ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा पुलिस महिलातर्फ च्याम्पियन बनेका हुन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले पुलिसमाथि ३-२ को सेटमा जित निकाल्यो ।
आर्मीले खेल २५-२०, २५-१७, २७-२९, १९-२५ र १५-७ ले आफ्नो पक्षमा पारेको थियो । यसैगरी महिलतार्फको फाइनलमा पुलिसले एपिएफलाई २५-११, १९-२५, २५-१९ र २५-२२ ले हरायो ।
उपाधिसँगै विजेता आर्मी र पुलिसले ट्रफीसहित समान २ लाख रुपैयाँ प्राप्त गरे । उपविजेता बनेका पुलिस र एपिएफले समान १ लाख रुपैयाँ पाए ।
पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए । यसैगरी पुलिसका विशाल बिक उत्कृष्ट स्पाइकर, पुलिसका द्धवारिका थापा उत्कृष्ट ब्लकर, एपिएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिबेरो, आर्मीका हरीहजुर थापा उत्कृष्ट सर्भर र आर्मीका जगतबहादुर भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
महिलातर्फ पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी चुनिइन् । एपिएफकी आरती सुवेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपिएफकी जशोन्ना महतो उत्कृष्ट सेटर, पुलिस यमुना रसाईली उत्कृष्ट लिबेरो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए ।
सर्वोकृष्ट खेलाडीले जनही १० हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपौयाँ प्राप्त गरे ।
ललितपुर महानगरको आयोजनामा बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको हो ।