काठमाडौं । मार्वलस, गोल्डेनपिक र बाल दीक्षा सदनले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज विधामा बिहीबार आ–आफ्नो खेल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।
मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले हराउँदा सिनेप शाहीले १६ स्कोर गरे । बाल दिक्षाले भने अर्नव महर्जनको १३ स्कोरमा सेवा सदनमाथि ३८–२८ को जित हासिल गर्यो । गोल्डेनपिकका लागि विजय तामाङले सर्वाधिक १९ स्कोर गरेपछि टोली माइलसेनमाथि ४८–३७ को जित निकाल्दै सेमिफाइनल पुग्न सफल भएको थियो ।
सेमिफाइनलमा गोल्डेनपिक र मार्वलसले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । बाल दीक्षाको भने प्रतिद्वन्द्वी टुंगो लाग्न बाँकी छ । शुक्रबार भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीच हुने अन्तिम क्वाटरफाइनलको विजेताले अन्तिम चारमा बाल दीक्षासँग प्रतिस्पर्धा गर्नेछ ।
जुनियर ब्वाइजमा पनि बिहीबारै सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबारका खेलमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
खेलमा ग्रिनफिल्डका लागि किस्मत ढकालले सर्वाधिक १२ स्कोर गर्दा गोल्डेनपिकको जितमा सुजल तामाङ नायक बने । सुजलले ८ स्कोर गरेका थिए । यसैगरी ग्रिन लन्सका लागि विजय मगरले गरेको ४ स्कोर सबभन्दा ठूलो व्यक्तिगत योगदान थियो भने इबिएका लागि प्रसिक श्रेष्ठले सर्वाधिक १४ स्कोर गरेका थिए ।
सेमिफाइनलमा ग्रिन लन्सले ग्रिनफिल्ड तथा इबिएले गोल्डेनपिकसँग प्रतिस्पर्धा गर्नेछन् ।
