१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः पौडीकी अनुशिया पनि हिट चरणबाटै बाहिरिइन्

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पौडमा मंगलबार १ सय मिटर फ्रिस्टाइलतर्फ नेपाली अनुशिया तेन्डुकार हिट चरणबाटै बाहिरिएकी छन् ।

हाङझाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको हिट-१ मा प्रतिस्पर्धा गरेकी अनुशिया  तेस्रो स्थानमा रहिन् । ६ खेलाडी सहभागी यो हिटमा उनले १ मिनेट ३.१७ सेकेन्डको समय निकालिन् ।

यो हिटमा ५९.२७ सकेन्डका साथ प्यालेस्टाइनकी भिलेरी ताराजी शीर्ष स्थानमा रहिन् ।

यसअघि सोमबार डुवाना लामा र एलेक्सजान्डर शाह पनि हिट चरणबाटै बाहिरिएका थिए ।  महिला २ सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् । यो हिटमा आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी पुरुष ५० मिटर फ्रि-स्टाइलमा आठौं स्थानमा रहेपछि एलेक्सजान्डर शाहको यात्रा पनि हिट चरणबाट अगाडि बढ्न सकेन । उनले २४.१५ सेकेन्डको समय निकाले ।