वीर गणेशमान बक्सिङ प्रतियोगिता

चन्द्रकला र नाङ्जा सेमिफाइनलमा

काठमाडौं । त्रिभुवन आर्मीकी चन्द्रकला थापा र एपिएफकी नाङ्जा बुढामगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वसन्तपुर डबलीमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा चन्द्रकलाले स्वस्तिका तिरुवा र नाङ्जाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५१ केजीमा एपिएफकी सन्जुमाया थिङ र नेपाल पुलिसकी दिवाना शेर्मा सेमिफाइनलमा प्रवेश गरे ।

सन्जुमायाले कर्णाली प्रदेशकी आरती विक र नेपाल प्रहरीकी दिवानाले गण्डकी प्रदेशकी अस्मिता थापालाई हराउँदै सेमिफाइनलमा पुगे ।

महिला ६० केजीमा बागमती प्रदेशकी शशिकला राई र आर्मीकी संगिता डंगोलले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।

शशिकलाले गण्डकी प्रदेशकी जोशिका श्रेष्ठ र आर्मीकी संगिताले कर्णालीकी मनीषा मगरको चुनौती समाप्त पार्दै सेमिफाइनल यात्रा तय गरे ।