१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः बक्सिङमा नेपालको चुनौती समाप्त

फाइल तस्बिरःएसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै सुष्मा तामाङ

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालको चुनौती समाप्त भएको छ ।

हाङझाउ जिम्नाजियमा शनिबार ६६-७५ केजी तौल समूहमा सरस्वती राना भियतनामकी क्युन दिम लुसँग ४-१ ले पराजित भएसँगै नेपालको चुनौती सकिएको हो ।

बक्सिङमा नेपालबाट १३ खेलाडीको सहभागिता थियो । यसअघि शुक्रबार महिला ५४-५७ केजीको अन्तिम १६ मा चन्द्रकला थापा थाइल्यान्डकी पोर्नतीप ब्वापासँग ५-० ले पराजित भइन् ।

बिहिबार पुरुष ४७-५७ केजी तौलसमूहमा उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविन थापाको यात्रा अन्तिम १६ मै सिमित बन्यो । रविनले सोमबार इन्डोनेसियाका कोइबानु डियोलाई ४-१ ले हराउँदै पहिलो चरण पार गरेका थिए ।

आइतबार महिला ५७-६० केजी तौलसमूहमा नेपालकी संगिता सुनार भियतनामकी लिन थी भियासँग ५-० ले पराजित भएकी थिइन् । सोही दिन पुरुष ७१-८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभसँग ५-० ले तथा महिला ५०-५४ केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोशितासँग ५९० ले नै स्तब्ध बने ।

सोमबार महिला ६०-६६ केजीमा बिनीता थापा मगर चाइनीज ताइपेइकी नाइन सेनसँग रेफ्री स्पोट्स कन्टेस्टका आधारमा हार पराजित भइन् । सोही दिन पुरुष ६३.५-७१ केजीमा भारतका निशान्त देवसँग ५-० ले पराजित हुँदा दीपेश लामाको यात्रा अगाडि बढ्न सकेन ।

मंगलबार पुरुष ५२-५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५-० तथा ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित हुँदै बाहिरिए ।

बुधबार महिला ४५-५० केजीमा सुष्मा तामाङ काजकस्तानकी नजिम किजाइबेसँग ५-० ले पराजित भइन् । त्यस्तै पुरुष ५७-६३.५ केजीमा चाइनीज ताइपेका एनचु लालसँग ४-० ले निराश बनेका भुपेन्द्र थापा मगरको यात्रामा पूर्णविराम लाग्यो ।