काठमाडौं । टोकियाे ओलम्पिकका स्वर्ण पदक विजेता जियानमार्को टाम्बेरीले विश्व एथलेटिक्स च्याम्पियनसिपको पुरुष हाइ जम्पमा पनि स्वर्ण पदक जितेका छन् ।
हंगेरीको राजधानी बुडापेस्टमा मंगलबार भएको फाइनलमा इटालियन टाम्बेरीले अमेरिकाका युभाउन ह्यारिसन र कतारका मुताज बार्सिमलाई पछि पार्दै स्वर्ण चुमेका हुन् ।
विश्व एथलेटिक्स च्याम्पियनसिपमा ३१ वर्षीय टाम्बेरीका लागि यो पहिलो स्वर्ण पदक हो । यसअघि खेलेका चार संस्करणमा टाम्बेरी पदकविहीन थिए ।
टाम्बेरीले २.३६ मिटर उचाइ जम्प गरेका थिए । रजत पदक जितेका ह्यरिसनले पनि सोही उचाइ जम्प गरे पनि काउन्टब्याक नियममा उनी स्वर्ण जित्न असफल भए ।
टोक्यो ओलम्पिकमा टाम्बेरीले बार्सिमसँगै स्वर्ण जितेका थिए । त्यतिबेला दुवैले २.३७ मिटर जम्प गरेका थिए ।
बार्सिम पछिल्ला तीन विश्व एथलेटिक्स च्याम्पियनसिपको स्वर्ण पदक विजेता हुन् । २०१६ रियो ओलम्पिकयता बार्सिमले हरेक ग्लोबल फाइनलमा पदक जित्दै आएका थिए ।