काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले गण्डकी कप राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ ।
पोखरा रंगशालास्थित ह्यान्डबल कोर्टमा सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबविरुद्ध ३१-१७ को सहज जित दर्ता गर्यो ।
उपाधिसँगै एपिएफले १ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उपविजेता बनेको आर्मीले ५० हजार रुपैयाँ हात पार्याे ।
सेमीफाइनलमा एपिएफले कोशी प्रदेशलाई २३-२ तथा आर्मीले गण्डकीलाई २१-१२ ले पराजित गरेका थिए ।
यसैगरी तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११-५ ले पराजित गर्यो । कोशीले ३० र गण्डकीले २० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमती, मधेश, लुम्बिनी र कर्णाली प्रदेश तथा विभागीय टोली एपिएफ र आर्मी सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै एपिएफकी संगीता चौधरी उत्कृष्ट गोलकिपर र एपिएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक चुनिए ।
प्रतियोगितामा विजेतालाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्मा, ह्याण्डबलका पूर्व मुख्य प्रशिक्षक हिमाल दाहाल, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।