काठमाडौं । शीर्ष दुई खेलाडी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगतामा महिला एकलको उपाधिका लागि भिड्ने भएका छन् ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपाल नम्बर एक विपनाले समीक्षा श्रेष्ठलाई ११-०, ११-४, ११-३ तथा दोस्रो वरियताकी स्वस्थानीले अस्मिता नगरकोटीलाई ११-३, ११-५, ११-४ ले हराए ।
यसअघि, सोही दिन भएको क्वार्टरफाइनलमा विपनाले डोल्मा लामालाई ११-४, ११-५, ११-१ स्वस्थानीले रनसा महर्जनलाई ११-५, ११-३ १२-१०, अस्मिताले साक्षी सुनुवारलाई ११-५, ११-७ ११-६ र समीक्षाले नियुक्ती श्रेष्ठलाई ७-११, ६-११, ११-९, ११-५, १३-११ ले पराजित गरेका थिए ।
यसैगरी नेपालका नम्बर एक अरहन्तकेशर सिम्ह पुरुष एकलको फाइनलमा पुगेका छन् । अरहन्तले सेमिफाइनलमा नैन बहादुर मगरलाई ११-२, ११-३, ११-४ ले हराए ।
शुक्रबारै क्वार्टरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११-६, ११-५ ११-५ तथा नैनबहादुरले जान जिसीलाई ११-४, ११-४,११-४ ले पराजित गरेका थिए ।
अरहन्तले उपाधिका लागि दीपक थापा र पासाङ ब्लोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलमा दीपकले आभन श्रेष्ठलाई ११-३, ११-४,११-७ तथा पासाङले सुर्यकुमार राईलाई ११-५ ११-९, ११-८ ले निराश बनाएका थिए ।