काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित कार्यसमितिलाई बिहीबार स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
गत महिना एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदेन सदस्यका रुपमा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र नेपाल पत्रकार महासघको एसोसिएट प्रदेशका उपाध्यक्ष ध्रुवकुमार तुलाधर रहेको कार्यसमितिमा पछि प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरिएको थियो । शाक्यले एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।
सातदोबाटोस्थित मुख्यालयमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज नेम्वाङ, महासचिव किरण राई, उपाध्क्ष दावा लामा र दीपक खतिवडा, प्रवक्ता सुरेश साहलगायतको उपस्थिति थियो ।

एन्फाका अध्यक्ष नेम्वाङले पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको १०औं स्मृति दिवसमा स्वागत कार्यक्रम राखिएको जानकारी दिए ।
‘ललित दाई हुँदा एन्फा र नेपाल खेलकुद पत्रकार मञ्चबीच सुमधुर सम्बन्ध थियो, त्यसैले यी दुई संस्थाबीचको सम्बन्ध पहिले जस्तै बनाउनु पर्छ भनेर यो कार्यक्रम राखिएको हो । मञ्च स्थापना भएपछि नेपाल फुटबलको विकासमा ठूलो टेवा पुगेको छ । हामीले एक साथ सझ धेरै राम्रो काम गर्न बाँकी छ,’ अध्यक्ष नेम्वाङले भने ।
नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारीले मञ्चले नेपाल फुटबलको हरेक राम्रो पक्षमा साथ दिइ रहेको तथा एन्फाले केही गलत गरेको खण्डमा भने रचनात्मक आलोचना गर्न पनि नछोडेको बताए ।

‘फुटबल अहिले उद्योग भइसकेको छ, यो खेलभन्दा धेरै माथि पुगिसकेको छ । यो फुटबल उद्योगको विकासका लागि एन्फासँग सहकार्य गर्न सकिन्छ, त्यसका लागि मञ्च तयार छ,’ अध्यक्ष अधिकारीले भने,‘ खेल अध्ययन र अनुसन्धानको पक्षमा काम गर्ने एनएसजेफ एकेडेमीसँग मिलेर एन्फाले काम गर्न सकेमा यसले नेपाली फुटबललाई नै राम्रो हुनेछ ।’
यसैगरी एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले नेपालमा रहेका फुटबल नेपालको नम्बर एक खेल रहेकाले खेलकुद संघमध्ये एन्फामा खेल पत्रकारको लगाव र चासो धेरै हुने भनाइ राखे ।
एन्फा उपाध्यक्ष दिपक खतिवडाले खेल पत्रकारविना नेपाली खेलकुद अगाडि बढ्न नसक्ने र खेल पत्रकारले अन्य खेललाईभन्दा फुटबललाई बढि माया गरेको महसुस भएको धारणा राखे ।
