एनएसआरए एनिभरसरी कप स्क्वास

एनएसआरए एनिभर्सरी कप स्क्वास: अरहन्त क्वार्टरफाइनलमा

काठमाडौं । नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहले एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अरहन्तले सोमबार ऋदि शाक्यलाई सोझो सेटमा ११-२, ११-५, ११-८ ले हराए । 

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको भवनमा भएको प्रतियोगिताअन्तर्गत दोस्रो दिन भएको अन्य खेलमा अमिर ब्लोनले राजकुमार श्रेष्ठलाई ११-४, ११-७, ११-६, राजेन्द्र शाक्यले राकेश परियारलाई ११-७, ११-१, ११-२, उमित शाक्यले विनायक श्रेष्ठलाई ११-३, ११-१, ११-६ तथा गोपाल थापाले विकास तुम्सिङ मगरलाई ११-७, १२-१०, ११-९ ले स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान पक्का गरे ।

यस्तै रिषभ चुरिवाल र र दिपक थापाले पनि आफ्नो पहिलो खेलमा जित हात पारे । रिषभले पासाङ ब्लोनलाई ११-६, ११-२, ११-१ तथा दिपकले शिव कायस्थलाई ११-५, ११-५ र ११-७ ले निराश बनाए ।

यसैगरी मास्टर्स ५० वर्षमाथिमा लालबहादुर गुरुङले किशोर महर्जनलाई १२-१०, ११-४, १२-१४, ११-९ तथा प्रज्वलप्रकाश प्रधानले रत्न महर्जनलाई ११-५, ११-९, ११-७ ले पराजित गरे । 

नेपाल स्क्वास र्याकेट संघ स्थापनाकाे ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो । यो प्रतियोगिता मंसिर २९ गतेसम्म हुनेछ । नेपालका राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता रहेको प्रतियोगितामा पुरुष / महिला खुल्ला, यु- १९ ब्वाइज/ गर्ल्स , मास्टर्स ५० वर्षमाथि र प्लेट गरी ६ विधा समावेश छ ।