काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा हुने दावी गरेका छन् ।
मन्त्री लिम्बुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् ।
उनले निर्माण भइरहेको रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दशौ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तीकै भूमिका रहने बनाए ।
दशौं राष्ट्रिय देलकुदको पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।
आठ विगाह क्षेत्रफलमा निर्माण भईरहेको रंगशालाको हाल सम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए । आगामी जेठ भित्र सम्पन्न गर्ने गरि काम भएको भन्दै सन्ज्यालले बहुउदेश्य सहित मार्सल आर्ट र ब्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।
महिला क्रिकेट एकेडेमी बनाउन मन्त्री लिम्बुको सुझाव
निरिक्षणका क्रमा मन्त्री लिम्बुले कोहलपुर क्रिकेट रंगशालालाई महिला क्रिकेट एकेडेमी बनाउन पर्ने सुझाव दिएका छन् ।
पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रंगशालामा एकातर्फ प्याराफिट निर्माणको कार्य भइरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनुपर्ने सम्झौता छ ।
क्रिकेट रंगशालाका विषयमा परिषद्का बोर्ड सदस्य तथा राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान लेख बहादुर क्षेत्रीले जानकारी गराएका थिए । त्यस क्रममा नेपालगन्जबाट निर्वाचित प्रदेश सांसद, कोहलपुर नगरपालिकाका मेयर र वडा अध्यक्षहरुले क्रिकेट मैदान निर्माणमा स्थानिय तह तयार रहेको बताए ।
यस्तै मन्त्री लिम्बुले नेपालजन्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरिक्षण गरेका छन् । ११ करोड ६६ लाख बजेटमा निर्माण हुदै गरेको ट्याकमा हाल बेसको काम भईरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका छन् ।
आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता भएपनि चिसो मौसमा पीचको काम गर्न अप्ठेरो पर्ने भएकाले बैशाखसम्म काम सकिने बताइएको छ । निरिक्षणका क्रममा राखेप सदस्यसचिव टंकलाल घिसिङले निर्धारित समय भित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
निरिक्षणमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्त, राखेपका विभागीय प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा लगायतको उपस्थिति थियो ।