नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी फेरी चर्चाको शिखरमा छन् । नेपाली खेलकुदमा जे छ, उनैको छ । अझ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनल यात्रा गरेपछि त अल्मुताइरीको चर्चा झनै चुलिएको छ । जुन स्वभाविक पनि हो ।
नेपालले साफ च्याम्पियनसिपमा कस्तो प्रदर्शन गर्यो, विगतमा नेपालको प्रदर्शन कस्तो रहने गरेको थियो वा नेपाली फुटबलको स्तर अल्मुताइरीको आगमनबाट तलमाथि भयो की भएन भन्ने बहसको फरक विषय बन्न सक्छन् । बन्नेछन् पनि ।
मैदानभित्र अल्मुताइरीको प्रभावबारे विभिन्न कोणबाट चर्चा भइरहेका छन् । उनको आगमनले नेपाली फुटबल ऐतिहासिक सफलताको बाटोमा लागेको विश्वास गर्ने धेरै छन् । यसैगरी नेपाली फुटबलरुपी मोटरले लामो समयदेखि उतारचढावपूर्ण रुपमा गरिरहेको यात्राका विभिन्न मोडमध्ये एक ठाउँमा स्टेरिङ सम्हाल्न आइपुगेका ड्राइभरका रुपमा अल्मुताइरीलाई लिने पनि धेरै छन् । अर्थात उनले हल्लाबाहेक खासमै गरेका चाँही केही छैनन् ।
अल्मुताइरीले जे गरे, त्यो मैदानमा देखिइसकेको छ । डिजिटल आर्काइबका रुपमा दस्ताबेजिकरण भइसकेको छ । पूरा देशको चासो रहेको सार्वजनिक जिम्मेवारीमा रहेर उनले गरेका कामप्रति आआफ्नो धारणा राख्नका लागि समर्थकहरु स्वतन्त्र छन् । त्यहीअनुसार अल्मुताइरी र उनका कामबारे सकारात्मक, नकारात्मक र तटस्थ प्रतिक्रियाहरु आइरहेका छन् ।
कुवेतका यी प्रशिक्षकको आगमनयता नेपालले अन्तर्राष्ट्रिय फुटबलमा मिश्रित नतिजा भोग्दै आएको छ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्नुबाहेक हेड टु हेडमा हेर्ने हो भने सबै विपक्षीविरुद्धका नतिजा विगतका जस्तै छन् ।
हो अल्मुताइरीले नेपाली फुटबलमा रहँदै आएको ‘हामी सक्दैनौं’ भन्ने हिन भावनालाई जबरजस्त रुपमा ‘हामीले किन नसक्ने’ भन्नेमा परिणत गरे । टिममा कोही सुपरस्टार त कोही सामान्य खेलाडी हुँदैनन् । सबको हैसियत समान, सबको क्षमता समान, सबको जिम्मेवारी समान भन्ने भावना विकास गरे । जुन उनले प्रत्येक खेलमा छान्ने पहिलो रोजाई र खेल दौरान गर्ने परिवर्तनले देखाउने गरेको छ ।
यसको मतलब उनले केही नगरेको भन्ने होइन । अल्मुताइरीको आगमनले फुटबलमा केही भएन भन्ने तर्क त झनै जायज छैन । उनले राष्ट्रिय टिममा एउटा अदभूत खालको विश्वास र एकताको भावना पैदा गराएका छन् । त्यसैले होला नेपाल ओमानसँग खेल्दा पनि जित्छ भन्ने विश्वास आम समर्थकमा हुने गर्छ । भारतसँग तीन गोल खाएको फाइनलअघि पनि नेपाल जित्नेमा आम समर्थकमात्र होइन, नेपाली फुटबलका धेरै जानकारहरु समेत विश्वस्त थिए ।
हो अल्मुताइरीले नेपाली फुटबलमा रहँदै आएको ‘हामी सक्दैनौं’ भन्ने हिन भावनालाई जबरजस्त रुपमा ‘हामीले किन नसक्ने’ भन्नेमा परिणत गरे । टिममा कोही सुपरस्टार त कोही सामान्य खेलाडी हुँदैनन् । सबको हैसियत समान, सबको क्षमता समान, सबको जिम्मेवारी समान भन्ने भावना विकास गरे । जुन उनले प्रत्येक खेलमा छान्ने पहिलो रोजाई र खेल दौरान गर्ने परिवर्तनले देखाउने गरेको छ ।
राष्ट्रिय टिमका कुनै पनि सदस्यलाई मिडियासँग बोल्न नपाउने नियम उनले लगाएका छन् । ‘टिममा कोही स्टार छैन । सबैको हैसियत समान छ । पहिलो रोजाईमा को पर्छ भन्ने कसैलाई थाहा हुँदैन । जसलाई पनि खेलको आवस्यकताअनुसार परिवर्तन गर्न उहाँ हिच्किचाउनुहुन्न । यसले टिम थप एकजुट भएको छ । पहिला जस्तो टिममा मेरो ठाउँ सिमेन्टेड भनेर कसैले सोच्न सक्दैन । कोचको हरेक निर्णय सरप्राइजिङ हुने गर्छ,’ एक खेलाडीले डराउँदै गरेको कानेखुसी उनको प्रशंसाका लागि पर्याप्त हुन सक्छ ।
यत्ति हो त अल्मुताइरीले गरेको ?
पक्कै पनि होइन । पछिल्लो समय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को उदासिनतामा कोभिड १९ को महामारी थपिएपछि निदाएझै अवस्थामा रहेको नेपाली फुटबललाई तरंगित गर्ने काम अल्मुताइरीले गरेका छन् ।
पटकपटक राजीनामाको ‘धम्की’ दिइरहने अल्मुताइरीले माल्दिभ्सको मालेबाट फेरी एकपटक त्यस्तै घोषणा गरेका छन् । सबभन्दा पहिला एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको घोषणा गरेर चर्चामा आएका अल्मुताइरीले दोस्रो पटक आफूविरुद्ध राष्ट्रिय खेलकुद परिषदको छानविन समितिले प्रतिवेदन बुझाएपछि ‘राजनीतिलाई काम गर्न दिउँ, म छोड्छु’ भनेर अर्को स्टन्ट गरेका थिए ।
सामाजिक सञ्जालमा विभिन्न खालका विवादास्पद कृयाकलाप गरेर उनले कम्तिमा मैदान बाहिर भए पनि फुटबललाई सार्वजनिक चासोको विषय बनाएका छन् । चिया पसलदेखि व्यावसायिक प्रतिष्ठान र सरकारी नीति निर्मातासम्म फुटबललाई बहसको विषय बनाएका छन् ।
पटकपटक राजीनामाको ‘धम्की’ दिइरहने अल्मुताइरीले माल्दिभ्सको मालेबाट फेरी एकपटक त्यस्तै घोषणा गरेका छन् । सबभन्दा पहिला एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको घोषणा गरेर चर्चामा आएका अल्मुताइरीले दोस्रो पटक आफूविरुद्ध राष्ट्रिय खेलकुद परिषदको छानविन समितिले प्रतिवेदन बुझाएपछि ‘राजनीतिलाई काम गर्न दिउँ, म छोड्छु’ भनेर अर्को स्टन्ट गरेका थिए ।
अहिले मालेमा भारतसँग फाइनल खेल्नुअघि मिडियाका कारण आफू साफ च्याम्पियनसिपपछि नेपाल नफर्किने घोषणा गरे । प्रत्येक पटक झै यसपाली पनि उनको घोषणाले बजार ततायो । सामाजिक सञ्जालमा परस्पर विपरित खालका भावनाहरु छरपस्ट भए । विजया दशमीका कारण घरेलु खेल गतिविधि सुन्य भएका बेला सञ्चार माध्यमलाई पनि मज्जाको मसला मिल्यो ।
तर पछिल्ला अवसरहरुमा जस्तै अल्मुताइरी यसपटक पनि आफ्नो घोषणामा टिक्न सकेनन् । फाइनलअघि भारतविरुद्धको त्यो खेल नेपाली टोलीबाट आफ्नो अन्तिम हुने घोषणा गरेका उनले केही हप्ताको आरामपछि भविश्यको वारेमा निर्णय लिने अभिव्यक्ति दिएका छन् ।
फाइनल पुगिसकेपछि टोलीको मुख्य कमाण्डरले नै लडाईपछि मैदान छोड्ने घोषणा गर्दा टिममा कस्तो मनोवैज्ञानिक अशर पर्यो होला ? त्यो राजीनामा घोषणा गर्ने उपयुक्त समय थियो की थिएन ? यी पनि बहसको विषय बन्न सक्छन् । उचित समयमा बहस होला । तर यस्ता स्टन्टबाट पनि नेपाली फुटबललाई फाइदा पुगेको मान्ने कम छैनन् ।
‘केही नभइरहेको बेला यस्ता स्टन्टले पनि फुटबललाई मानिसको कुराकानीको प्राथमिकतामा पारेको छ । समग्रमा यसले फुटबललाई जीवन्त राख्न ठूलो योगदान गर्छ । अहिले यो प्रशिक्षकको विषयमा कुरा गर्न पनि धेरै सोच विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उनको फ्यान फलोइङ यति जबरजस्त छ की केही बोल्दा आफै विवादमा पर्ने चिन्ता हुन्छ । तर समग्रतामा सोच्ने हो भने फुटबलका लागि उनकै कारण एउटा ठूलो जमात बहस गर्न तयार भएको छ । फुटबलको कुरा गर्न र फेसबुकका कमेन्टमा भिड्न समय खर्च गरिरहेको छ । यो सुखद पक्ष हो,’ एन्फाका एक पदाधिकारीको यो भनाई सतप्रतिसत जायज छ ।
सामाजिक सञ्जालमा अल्मुताइरीका विवादास्पद गतिविधि केही हदसम्म सबै तह र तप्काका, सबै पेशा र व्यावसायका नेपालीका अनौपचारिक कुराकानीमा फुटबल प्रवेश गराउन सफल भएको छ । तर यसले नेपाली फुटबललाई पूर्ण रुपमा फाइदा मात्रै पुग्यो भन्ने पनि होइन ।
मैदानभित्र फुटबल भयो की भएन वा एन्फाको प्राविधिक गतिविधिका कर्मकाण्डी प्रतिवेदन कति पेज लामो पुग्यो भन्नेलेमात्र यो सुन्दर खेलको आधार तय गर्दैन । चरम व्यावसायिकरणको आधुनिक युगमा फुटबलले कति समर्थकको ध्यान तानिरहेको छ, व्यावसायिक प्रतिष्ठानलाई कति 'इन्गेज' गरिरहेको छ र नीति निर्माताहरुको बीचमा आफूलाई कसरी प्रस्तुत गरिरहेको छ भन्नेले बढि अर्थ राख्छ ।
सामाजिक सञ्जालमा अल्मुताइरीका विवादास्पद गतिविधि केही हदसम्म सबै तह र तप्काका, सबै पेशा र व्यावसायका नेपालीका अनौपचारिक कुराकानीमा फुटबल प्रवेश गराउन सफल भएको छ । तर यसले नेपाली फुटबललाई पूर्ण रुपमा फाइदा मात्रै पुग्यो भन्ने पनि होइन ।
यसले नेपाली फुटबल र फुटबलकर्मीको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेको छ । लामो समयदेखि आन्तरिक शक्तिसंघर्ष र राजनीतिको सिकार बन्दै आएको फुटबलमा अर्को ध्रुविकरण अल्मुताइरीको नाममा चुलिएको छ । अल्मुताइरीले ‘वान टिम’ भन्ने गरे पनि उनकै कारण एन्फाभित्रको दुई समूह एक ठाउँमा पुग्नै नसक्ने गरी झन टाढिँदो छन् ।
केही समयअघि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङमाथि आरोप लगाउँदै अल्मुताइरीले लेखेको एउटा फेसबुक स्ट्याटस निक्कै विवादित भयो । दुवै पक्षको मागअनुसार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई छानविन समिति बनाउन लगायो । छानविन समितिले अल्मुताइरीले गैह्र व्यावसायिक आचरण गरेको ठहर गर्दै फेसबुकबाट स्ट्याटस मेट्नुपर्ने निश्कर्ष निकालेको थियो । साथै समितिले प्रतिवेदनमा प्रशिक्षकलाई सामाजिक सञ्जालको कम प्रयोग गर्न र आफ्नो काममा मात्र ध्यान दिन सुझाव दिएको थियो ।
माल्दिभ्स र श्रीलंकालाई हराउनाका साथै बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली राष्ट्रिय टोलीका एक पूर्व खेलाडीले पनि अल्मुताइरीको विषयमा यस्तै प्रतिक्रिया दिए । प्रशिक्षकले राजनीतिमा नलागी टिममामात्र केन्द्रित हुने हो भने उनी नेपाली फुटबललाई चाहिने व्यक्ति हुन् ।
प्रिय प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, तपाईले भनेजस्तै केही साता मज्जासँग आराम गरेर भविश्यवारे निर्णय लिनुस । तपाईको निर्णय नेपाली राष्ट्रिय टोलीमा निरन्तरता दिने पक्षमा होस । त्यसपछि विवादास्पद स्टन्टबाजीमा व्यस्त हुनुको साटो प्रशिक्षणमै मात्र केन्द्रित भएर नेपाली फुटबललाई अर्को स्तरमा डोर्याउने धैर्यवान सारथी बन्न सक्नुहोस । शुभकामना !