दोश्रो बागमती प्रदेश खेलकुद

रग्बीमा भक्तपुर र मकवानपुरलाई स्वर्ण

दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत रग्बीमा स्वर्ण विजेता मकवानपुरको महिला टोली

हेटौंडा । भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत रग्बीमा स्वर्ण जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलातर्फ च्याम्पियन बनेका हुन् ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको पुरुष फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१-५ स्कोरले पराजित गरेको हो । भक्तपुरका सुरज रानाले दुई तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले एक  ट्राइ गरे । ट्राइबाट पाँच अंक प्राप्त हुन्छ ।

भक्तपुरका निरोज कार्कीले तीन कन्भर्सन गरे । कन्भर्सनबाट  दुई  अंक प्रापत हुन्छ । मकवानपुरका अनिश तामाङले एक ट्राइ गरे ।

महिलाको उपाधि भिडन्तमा मकवानपुरले ललिपतुरलाई १७-१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले दुई तथा मनीषा घिसिङले एक ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले एक कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान एक ट्राइ गरे ।

दुई सञ्चालन भएको रग्बी पुरुषतर्फ आठ तथा महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए ।

बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो । विभिन्न १३ खेल समावेश बागमती प्रदेश खेलकुद अन्तर्गत अब पुरुष फुटबलको फाइनल मात्र बाँकी छ । फुटबल फाइनल शनिबारै अपरान्ह ४ बजे पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।