काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) कभर्ड हलमा नेपाल कबड्डी लिग(एनकेएल) को दोस्रो सिजनको लागि ‘प्लेयर ट्रायल्स’ सुरु भएको छ ।
आइतबार एनेकएल ड्राफ्टमा स्थान बनाउन १ सय ८० खेलाडी उत्रिएका छन् ।
आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले दोस्रो सिजनका लागि दर्ता भएका ५ सय १२ जना खेलाडीमध्ये प्राविधिक टोलीको छनोटको आधारमा १ सय ८० खेलाडीलाई ट्र्यालका लागि बोलाएको थियो । दुई दिनको छनोटमा पहिलो दिन ९० खेलाडीले प्रतिस्पर्धा गरे ।
खेलाडी व्यक्तिगत रुपमा दर्ता भएपनि उनीहरूलाई टिममा विभाजन गर्दै कोर्टमा उतारिएको थियो । बाँकी ९० खेलाडीले दोस्रो दिन सोमबार आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।
प्लेयर ट्रायलमा राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम मगर, महिला टिमकी कप्तान मानमति विष्ट, एनकेएल पहिलो सिजनको च्याम्पियन जनकपुर नाइट्सका प्रशिक्षक पार्वती राई र मार्की रामु टमाटा, विराटनगर ब्यान्ड्सिटका कप्तान कल्याण भुजेलको सहभागिता थियो ।
ड्राफ्टमा स्थान बनाउन पूर्व झापादेखि पश्चिम दाचुर्लासम्मका खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।

एनकेएल सिजन २ को तयारीमा एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि आयोजना गर्दैछ ।
फ्रेन्चाइज टिमको आधारमा पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए ।
एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।
